पत्रकार देवराजलाई गल्तिबिना नै पक्राउ गरेको भन्दै विरोध

पत्रकार देवराजलाई गल्तिबिना नै पक्राउ गरेको भन्दै विरोध

गाईघाट — उदयपुरका क्रियाशिल पत्रकार देवराज राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । समाचार संकलन गरेर फर्कने क्रममा उदयपुरको बेल्टारबाट प्रहरीले पत्रकार देवराज राईलाई आईतबार साँझ पक्राउ गरेको पत्रकार विश्वराज तामाङले बताए । 
उदयपुरबाट प्रकाशन हुने  त्रियुगा एक्सप्रेस दैनिकमा कार्यरत पत्रकार राईलाई बेल्टारबाट समाचार संकलन गरेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । 

चौदण्डिगढि ७ स्थित ज्योती बहुमुखी क्याम्पसमा दुई समुहबीच एक्कासी झगडा भएपछि उक्त समुहलाई पत्रकार देवराज राईले छुट्याएका थिए । तर, उक्त झगडामा पत्रकार देवराज राईलाई पनि हात हालेको भन्दै प्रहरीले बिना गल्ति नै पक्राउ गरेको बताइएको छ । 

घटनामा पत्रकार देवराज राई निर्दोष रहेको घटनाका प्रत्यक्षदर्षी तथा क्याम्पसका प्रध्यापक द्रोण पराजुलीको भनाई छ । आफुलाई पत्रकार भन्दै विद्यार्थी माथि कुटपिट गर्ने चित्र कुमार कार्की र रमिला बस्नेत रहेको प्रध्यापक पराजुलीले बताए ।

पत्रकार तामाङका अनुसार बेल्टारबाट फर्कने क्रममा उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्की, मिस स्टेट विजेता रमिला बस्नेतसंग भेट भएका राईलाई कार्की र बस्नेतले चौदण्डिगढि ७ स्थित ज्योती बहुमुखी क्याम्पसमा सामान्य काम छ भन्दै संगै जानको लागि आग्रह गरेपछि राई कार्की, बस्नेत र कार्कीका सहयोगी शिव रोईलाको आग्रहमा क्याम्पस पुगको थिए ।  

क्याम्पसमा पुगेका कार्की र बस्नेतले विएड प्रथम बर्षमा अध्यानरत अजय राईलाई हातपात गरेका थिए । राईसंग विवाद गर्दै चित्र कार्की र रमिला बस्नेतले हातपात गरेपछि सो स्थानमा पुगेका पत्रकार राईले भने दुई समुहलाई छुट्याउने प्रयत्न गरेको क्याम्पसका प्रध्यापक द्रोण पराजुलीको भनाई छ । 

प्रध्यापक पराजुलीका अनुसार के बिषयमा आफ्ना विद्यार्थी माथी चित्र कार्की र रमिला बस्नेतले हातपात गरेको सो बिषयमा आफुहरु अनविज्ञ रहेको बताए ।  

बेल्टार घर भएकी रमिला बस्नेतको केहि समय यता बेल्टार क्षेत्रमा चरित्र हत्या हुने किसिमको सामाग्री सार्वजनिक भएको र सो सामाग्री बनाउनमा ज्योती बहुमुखी क्याम्पसमा अध्यानरत अजय राई संलग्न रहेको भन्दै उनीहरुले कुटपिट गरेको हुन सक्ने स्रोतको दाबी छ । 

चरित्र हत्या हुने सामाग्री सार्वजनिक भएपछि आक्रोसित बस्नेत र उनलाई सहयोग गर्नका लागि कार्की सो स्थानमा पुगेको बताइएको छ । 

उनीहरुलाई घटनामा संलग्न रहेको भन्दै इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक बीरबहादुर बुढामगरले बताए । 

पत्रकार राई पक्राउको विरोध भएको छ, विना कारण आफ्ना सहकर्मी पक्राउ गरेको भन्दै त्रियुगा एक्सप्रेस दैनिकले एक विज्ञप्ती जारी गर्दै भर्तसनासमेत गरेको छ ।

पत्रिकाका प्रकाशक तथा सम्पादक विश्वराज तामाङले एक विज्ञप्ती जारी गर्दै समाचार संकलनबाट फर्कदै गरेका राई ज्योती बहुमुखी क्याम्पसमा भएको घटनाको बिषयमा जानकारी राख्ने क्रममा प्रहरीले पक्राउ गर्नु आफैमा निन्दनीय भएको बताएका छन् ।

घटनामा संलग्नको सत्य तथ्य छानविन गरेर घटनामा संलग्नलाई कानुनी कार्वाहि गरिनु पर्ने माग राख्दै आफ्ना निर्दोष सहकर्मी पक्राउ परेको प्रति गम्भीर आपत्ती रहेको बताए ।