ओली सरकारविरुद्ध पत्रकारहरु आन्दोलित !

ओली सरकारविरुद्ध पत्रकारहरु आन्दोलित !

काठमाडौं  — पत्रकारितामा संसारभरका राष्ट्रहरुमा भने स्वनियमनको अभ्यास भइरहेका बेला नेपालमा कानुनबाट पत्रकारलाई कस्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएको छ । तर, पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध जनाउँदै आन्दोलनको घोषणा गरेको छ । 

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो । गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ ।

संसदमा आउन बाँकी रहेको आमसञ्चारसम्बन्धी छाता ऐनको विधेयकमा झन धेरै आपत्तिजनक प्रावधानहरु राखिएपछि देशभरका पत्रकारहरुले विरोध जनाउँदै आईरहेका छन् । 

गत बैशाख २ गते नै मन्त्रिपरिषदले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको थियो । यो विधेयक विहीबार प्रतिनिधिसभामा पेश भएको हो । कर्मचारीले मस्यौदा गरेको विधेयकलाई सञ्चार मन्त्रालय हुँदै कानुन र अर्थ मन्त्रालयबाट स्वीकृत भएर मन्त्रिपरिषदले पारित गरेको थियो । 

प्रेस काउन्सिल हाल स्वायत्त संस्थाको रुपमा छ । मिडिया काउन्सिललाई अर्धन्यायिक निकायका रुपमा स्थापित गर्दै दण्ड जरिवाना तोक्नेसम्मको अधिकार दिन लागिएकोमा पत्रकार महासंघले आपत्ति जनाएको बुझिन्छ । 

सरकारले संसदमा दर्ता गरेको विधेयक फिर्ता हुनुपर्ने माग गर्दै पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ । शुक्रबार सिनामंगलस्थित महासंघको केन्द्रीय कार्यालयमा सरोकारवालाहरुसँगको छलफलपछि अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको जनाइएको छ । 

महासंघ बैठकले सो विद्येयकका विरुद्ध विरोधका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ ।  विरोधका कार्यक्रम तालिका अनुसार २९ बैशाखमा महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल हुने जनाइएको छ । 
– बैशाख ३० गते प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने ।
–३१ बैशाखमा संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल गर्ने ।
– १ जेठमा कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने र  महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने 
– ३ जेठमा काठमाडौँमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहद प्रदर्शन गर्ने कार्यक्रम  गरिने ।