नयाँ वर्ष २०७६ : एकआपसमा शुभकामना आदान प्रदान गरी मनाइँदै

नयाँ वर्ष २०७६ : एकआपसमा शुभकामना आदान प्रदान गरी मनाइँदै

काठमाडौँ – नयाँ वर्ष २०७६ अर्थात आज नयाँ बर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा रहेका सम्पुर्ण नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । नेपाली पात्रोअनुसार विक्रम संवत् २०७६ साल प्रारम्भ भएका अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबीच एकापसमा शुभकामना आदानप्रदान गरी आज नयाँ वर्ष वैशाख १ गते उत्साह र उमङ्गका साथ मनाइँदैछ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश-विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै देशबासीका नाममा सम्बोधनसमेत गर्दैछन् ।

हरेक नेपालीले आज गत वर्ष गरेका कामको सफलता, असफलता मूल्यांकन गरी नयाँ योजनाको संकल्प गर्ने गर्दछ । नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, बिभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।

नयाँ वर्षको पहिलो दिन बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, देवीदेवताको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको छ । आजको दिन स्नान र दान गरेमा पुण्य कमाइने धार्मिक विश्वास रहेको छ । 

नयाँ वर्षका अवसरमा काठमाडौँको उत्तरी भेगस्थित बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार (वागमती नदीको उद्गमस्थल)लगायतका स्थानमा आज विशेष मेला लाग्छ । काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा शारीरिक तन्दुरुस्तता प्राप्त हुने जनविश्वास छ ।  
 
सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।