टीकापुर काण्ड: सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला !

टीकापुर काण्ड: सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला !

कैलाली — टीकापुर घटनाका मुख्य अभियुक्त भनिएको रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ । उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको हो ।

न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको जनाइएको छ । लक्ष्मण थारुलाई भने ३ वर्ष कैद सजाय सुनाएको छ । उनले तीन वर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।

मधेसी—थारु आन्दोलनका क्रममा ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो । गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए।

प्रतिवादी तर्फबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, वीरबहादुर जेठारा, गम्भीर सिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए। बहस सकिए पनि समय अभावका कारण हिजो फैसला हुन सकेको थिएन।

घटनापछि फरार भएका चौधरी कैलाली १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यको चुनाव जिते । वारेसमार्फत चुनाव जितेको प्रमाणपत्र लिन पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतसम्म गएका चौधरीले मुद्दा हारेपछि १४ फागुन २०७४ मा जिल्ला अदालत कैलाललीसामू आत्मसमर्पण गरेका थिए ।

तर, जेलमै रहेका बेला १९ पुस २०७५ मा सरकारकै जोडबलमा चौधरीले सांसदको सपथ लिए । सपथपछि पनि जेलमै रहेका बेला जिल्ला अदालत कैलालीले चौधरीलाई टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।