यायोक्खाको अधिवेशनमा पत्रकारलाई प्रतिवन्ध !

यायोक्खाको अधिवेशनमा पत्रकारलाई प्रतिवन्ध !

धरान, फागुन २० गते — किराती राई समुदायको साझा संगठन किरात राई यायोक्खाको १० औँ महाधिवेशनमा किरात राई पत्रकार संघलाई प्रतिवन्ध लागाईएको छ । यायोक्खाका अध्यक्ष तिलक राईको ठाडो आदेशमा पत्रकार संघको सँस्थागत प्रतिनिधित्वलाई प्रतिबन्ध लगाईएको हो । 

यसअघि किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको पत्रकार संघलाई सम्मेलनमा सहभागिताको लागि अनुरोध गर्दै आधिकारिक पत्रकसमेत लेखिएको थियो । यायोक्खको वर्तमान उपमहासचिव जनक राईको प्रमुख आतित्थमा करिब १० महिना अघि आएको नेतृत्वप्रति असहमति जनाउँदै यायोक्खा अध्यक्ष तिलक राईले पत्रकार संघको सँस्थागत प्रतिनिधित्व अस्वीकार गरेको जनाइएको छ ।

संघका अध्यक्ष भीम राईका अनुसार यसअघि यायोक्खाबाट सम्मेलनमा सहभागिता तथा सहयोगका लागि भन्दै महासचिव जीवन हाताछोको हस्ताक्षरसहितको पत्र प्राप्त भएको थियो । पत्र अनुसार सम्पूर्ण सहयोग गर्दै संघले महाधिवेशनमा सहभागिताको लागि प्रतिनिधि पठाएको थियो । तर, अध्यक्ष तिकल राईले पत्रकार संघको प्रतिधिनिलाई लाठो लाएर भए पनि महाधिवेशन हलमा प्रवेश गर्न नदिने भन्दै अडान लिए पछि सम्मेलन स्थल पुगिसकेका प्रतिनिधिहरु निराश बनेका छन् । 

हामी सहभागिताको लागि आईका हौँ, तर अहिलेसम्म प्रवेश दिईएको छैन, पत्रकार संघका प्रतिनिधि राधन राई र राजन समिपले भने, बरु हामीलाई तोकिएको दायित्व र अहिलेसम्म यायोक्खाले दिएको पत्रहरु सबै फिर्ता गर्ने भनिँदैछ । किन यसो भयो केहि बुझ्न सकेको छैन ।

यायोक्खा वर्तमान कार्यसमितका एक पदाधिकारीका अनुसार अध्यक्ष तिलक राईले आफू बाँचुन्जेल पत्रकारहरुलाई यायोक्खाको कार्यक्रममा सहभागि हुन नदिने अडान लिएका छन् । उहाँले पहिले नै पत्रकार संघ विघटन गर्ने प्रस्ताव ल्याउनुभएको थियो, ती पदाधिकारीले भने, तर हामीले विघटन नै गर्ने कुरा नगरौँ बरु केमा अध्यक्ष ज्यूको असहमति हो त्यसमा छलफल गरौँ भन्ने कुरा राखेका हौँ । तर विडबम्बना अहिले यस्तो भयो । 

अध्यक्ष तिलक राई आफूप्रति पत्रकारहरु आलोचक भएको भन्दै आक्रोशति छन् । उनले पत्रकारहरुले पहिचान पक्षधरहरुलाई मात्र प्राथमिकता दिएको र आफूलाई खुईल्याउने काम गरेको भन्दै यायोक्खाको बैठकमा तर्क राख्ने गरेका छन् । अध्यक्ष तिलक राई कांग्रेस निकट नेता हुन् । उनले गत स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा चुनाव लडेर हार ब्यहोरेका थिए ।