आज असार १५-धान दिवस ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’

 आज असार १५-धान दिवस ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’

काठमाडौं –  आज असार १५, धान दिवस । असार महिना ‘मानो रोपेर मुरी फलाउन’ दिन । ‘धान उत्पादनमा वृद्धिः राष्ट्रको समृद्धि’ भन्ने मूलनाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । यसवर्ष सरकारले काठमाडौँको दक्षिणकालीमा धान दिवसको आयोजना गरेको छ ।

कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पु¥याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको हो ।

आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ । कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।

जल, जमीन र जनशक्ति पर्याप्त भए पनि धानको उत्पादनमा सन्तोषजनक वृद्धि हुन सकेको छैन । युवा जनशक्ति विदेश पलायन हुनु, खेतीयोग्य जमीन खण्डीकरण भई घडेरीकरणमा रुपान्तरण हुनु पर्याप्त सिञ्चित जमीन नहुनु, उन्नत जातका बीउबिजनको प्रयोग नगर्नु र प्राङ्गारिक तथा रासायनिक मलको सहीरुपमा प्रयोग नहुनु एवं धानको समर्थन मूल्य नतोकिनुले धानको उत्पादन बढ्न नसकेको कृषि विज्ञहरुको भनाइ छ ।

नेपालीलाई प्रतिवर्ष ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । प्राप्त तथ्याङ्कअनुसार नेपालमा धानको उत्पादन सरदर ५२÷५३ लाख मेट्रिक टन रहेको छ । तर गतवर्ष भने यसको उत्पादन ४२ लाख मेट्रिक टनमा मात्र खुम्चन पुग्यो ।

नेपालीहरु दुई छाक अनिवार्य नत्र तीनै छाक भए पनि भात खाने गर्छन् । सो बानीले गर्दा चामलको आयात बढेको छ । हाल प्रतिमहिना दुई अर्बको चामल आयात हुन्छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव शङ्कर सापकोटाले सरकारले आगामी पाँच वर्षमा धानको उत्पादन दोब्बर वृद्धि गर्ने लक्ष्य लिएको बताउँछन् । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पकेट, ब्लक, जोन र सुपरजोनमार्फत क्षेत्र पहिचान गरी धानको उत्पादन वृद्धि गर्दै लैजाने नीति सरकारको नीति रहेको बताए ।

विश्वको कूल जनसंख्यामध्ये आधाभन्दा बढी जनसंख्या एशिया महादेशमा बसोबास गर्छन् । एशियाका धेरै मानिसको आहार भात हो । त्यसैले सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन र भारत एशियामै पर्छन् ।

त्यसपछि क्रमशः इण्डोनेसिया, बंगलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान धेरै धान उत्पादन गर्ने देशको गणनामा सूचीकृत भएका छन् ।

नेपाल संसारकै अग्लो स्थानमा धान उत्पादन गर्ने देशमा पनि पर्छ । जुम्लाको छुमचौरमा उत्पादन हुने जुम्लीमार्सी धान विश्वमा प्रसिद्ध छ । तर, उक्त धान मागअनुसारको उत्पादन हुन सकेको छैन । नेपालको झापा जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुन्छ ।

सन् १९६६ मा एशियाका थुप्रै देशमा भोकमरी भयो । द्वन्द्व र लडाइँका कारण सो भोकमरी भएको थियो । त्यसैले संयुक्त राष्ट्रसंघ (युएन) ले सन् १९६६ लाई धानबाली वर्षका रुपमा घोषण गरेको थियो । युएनले घोषण गर्नुअघि फिलिपिन्सको राजधानी मनिलामा मुख्य कार्यालय रहने गरी सन् १९६० मा अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) स्थापना भइसकेको थियो ।

खाद्यान्न उपभोग गर्ने जनशक्ति बढेसँगै उत्पादनको बढोत्तरी आवश्यक छ । तर नेपालमा भने कूल खेतीयोग्य जमीनमध्ये झण्डै ११ लाख हेक्टर जमीन बाँझो छ । सरकारी तथ्याङ्कअनुसार करीब ३१ लाख हेक्टर जमीन खेतीयोग्य छ । उन्नत जात भित्र्याउने नाममा स्थानीय धानका जात प्रायः लोप भइसकेका छन् । सरकारले देशलाई धानमा आत्मनिर्भर गर्न इरीसँग हालै सम्झौता पनि गरेको छ ।

 परम्परागत धान खेती जनजिब्रोमा सीमित हुने चिन्ता

“झिनुवा रोप्ने फाँटमा ठूला बंगला सजाए ।
हिलोमा खेली रोपाइँ गर्ने चलनै हराए ।।”

पोखरेली शिक्षासेवी एवम् साहित्यकार तारा पाखेले असार पन्ध्र २०७५ का सन्दर्भमा रच्नुभएको असारे गीत हो यो ।

असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै गर्दा पाखेले भने जस्तै परम्परागत खेती प्रणालीका साथै रैथाने धानका बीउहरू लोप हुँदै जाने क्रम यतिखेर चिन्ताको विषय बनेको छ ।

कृषि प्रधान देश नेपालमा बढिरहेको कृषिप्रतिको अनिच्छालाई र बढ्दो खेत प्लटिङको वास्तविकतालाई गीतमा व्यक्त गर्दै पाखे भन्नुहुन्छ,
“बेसीका फाँट प्लटिङ्ग भन्दै धेरै नै मासिए ।
लेक र पहाड फाँटका खेत झाडीमा बदलिए ।।”

बढ्दो प्लटिङ्गका समस्याले धान खेतीको कमी हुँदै जानुका साथै कृषिप्रतिको अनिच्छा यतिखेर गम्भीर समस्याका रुपमा देखिएको छ ।

पछिल्लो समयमा कास्कीमा रैथाने औषधीय गुण बोकेका धान विस्तारै लोपोन्मुख अवस्थामा पुगिसकेका छन् ।

उत्पादनका दृष्टिबाट पनि नयाँ उन्नत जातका धान रोप्न कृषक आकर्षित हुन थालेपछि रैथाने जात विस्तारै लोपोन्मुख हुँदै गएको कृषक धनीराम सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार ताल किनारको सिमसार क्षेत्रमा पाइने जङ्गली धान नाभो लगभग लोप भइसकेको छ ।

धानको अति प्राचीन प्रजातिका रुपमा रहेको नाभोबाटै विस्तारै अन्य धानको विकास भएको मानिन्छ । पछिल्ला वर्षमा धेरै रैथाने जातका धान विस्तारै हराउन थालेको बताउने क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका बाली प्रजनक अमृत पौडेलले राज्यस्तरबाटै तिनीहरूको संरक्षणको पहल थालिएको जानकारी  दिए ।

रैथाने जातमा अधिकांशमा रोगसँग लड्ने क्षमता कम हुने गरेका कारण रोग प्रतिरोधी जातसँग क्रसिङ गरेर परम्परागत जातहरू संरक्षण गर्ने गरिएको बताउँदै उहाँले लोपोन्मुख जातको संरक्षणका लागि बीउ संकलन गरी खुमलटारस्थित जिम बैंकमा राख्ने गरिएको जानकारी दिनुभयो ।
रैथाने जातका धान तथा बाली विस्तारै लोपोन्मुख बन्न थालेपछि लेखनाथ नगरपालिकाको सुन्दरीडाँडामा जैविक विविधता कृषि सूचना केन्द्र स्थापना गरी त्यहाँबाट पनि संरक्षणको पहल गरिएको छ ।

उक्त केन्द्रले धान बालीका साथै, कोदो, तरकारीलगायतका कृषिजन्य उत्पादनका परम्परागत प्रजातिको बीउ संरक्षण गर्ने गरेको छ ।

रैथाने जातको संरक्षणका लागि पछिल्लो समय कृषक पनि सक्रिय बनेका छन् ।

उपत्यका, तालतलैया र सिमसार क्षेत्रजस्ता विविधतायुक्त भू–बनोट पाइने कास्कीमा ५० भन्दा बढी जातका स्थानीय धान लगाउने गरिए पनि विस्तारै राम्रो उत्पादनका लागि कृषक हाइब्रिड धानतर्फ आकर्षित बन्ने गरेको अर्का कृषक जीवनाथ लामिछाने बताउनुहुन्छ ।

कास्कीमा झण्डै डेढ दशक अघिसम्म प्रचलनमा आएका समुद्र फिङ्जा, नाभो, आँगा, बले, कृष्णभोग, जिरासरी र फल्याङकोटे धान लोप नै भइसकेका छन् । करिब ३०० मिटरदेखि ६०० सय मिटरको उचाइमा फल्ने यी धान यहाँका प्राचीन रैथाने जात हुन् । पछिल्ला वर्षमा गौरिया, बिरम्फुल, आँगा, रमनी, रुदुवा मार्सी जस्ता धान देखिन छोडेको छ ।

नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेको कृषक बताउँछन् ।

कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेंले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायतका धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् ।

पछिल्ला समयमा जिल्लामा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंले जस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ ।

बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो ।

आँगा, अनदी जस्ता धेरै औषधीय गुण बोकेका धान विस्थापित बन्दै गएको बताउँदै लामिछानेले रासायनिक मलको प्रयोगबाट जेठोबूढो, पहेँंले, बिरमफूल जस्ता बास्नादार धानमा पनि बास्ना आउन छाडेको बताए ।

रैथाने जात लोप हुँदै जाने र यसको संरक्षण पनि हुन नसक्ने हो भने यी धानहरू पछिल्लो पुस्ताका लागि केवल जनजिब्रोमा सीमित बन्ने उनको भनाई छ ।

पर्याप्त धान उत्पादन हुने पोखराका बिरुवा फाँट, कुँडहर, लेखनाथको शिशुवा, पटनेरीलगायतका स्थानमा बढ्दो प्लटिङका कारण धान खेतीमा कमी आउन थालेको छ ।

नेपालमा धान खेतीले कृषिको कूल ग्राहस्थ्य उत्पादनमा २१ प्रतिशत योगदान गरेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्रमुख रामबहादुर केसीले बताए ।

कृषिको प्रमुख बालीका रुपमा धान रहे पनि बढ्दो शहरीकरण, प्लटिङ आदिका कारण समस्या बढ्दै गएको उनले बताए ।

कृषियोग्य जमिन उपयोगका लागि वैज्ञानिक भूउपयोग नीतिका माध्यमबाट कार्यक्रम अघि बढाउनुपर्ने उनको धारणा छ ।

रैथाने जातका आफ्नै किसिमका विशेषता रहने बताउँदै उनले यसको संरक्षणको विषय राज्यस्तरका साथै जनस्तरमा पनि बढीरहेको धारणा राखे । – रासस