इन्टरनेटमा तपाईको जासुसी, कसरी बच्ने ?

इन्टरनेटमा तपाईको जासुसी, कसरी बच्ने  ?

 

इन्टरनेटको माध्यमबाट हरेक समयमा तपाइँमाथि निगरानी भैरहेको हुन्छ । गुगलले सधैभरी यस्तो कार्य गरिरहेको हुन्छ र तपाइँले प्रयोग गर्ने सोसल मिडिया साइटबाट पनि तपाइँमाथि जासूसी भैरहेको हुन्छ ।

यद्यपि यस्तो ट्रयाकिङ व्यवसायिक उद्देश्यका साथ हुन्छ तथापि कुनैबेला साइबर अपराधीले पनि तपाइँलाई ट्रयाक गर्दछन्, जसको नजिता खराब हुन्छ ।

गुगलले तपाइँको बारेमा धेरै कुरा थाहा पाउँदछ । प्रश्न यो हो की प्रयोगकर्ताको क्रियाकलाप ट्रयाक गरेर गुगललाई के फाइदा हुन्छ ? जवाफ सरल छ । गुगलले यसबाट रकम आर्जन गर्दछ । गुगल आफ्ना प्रयोगकर्ताको आवश्यकता अनुसारको विज्ञापन देखाउनमा यसको उपयोग गर्दछ ।

लक्षित विज्ञापनको सहायताले उसले रकम आर्जन गर्दछ । यो गुगलको आम्दानीको एउटा ठूलो हिस्सा हो । सोही कारण तपाइँले गुगल सर्चमा केही कुरा खोज्नुभयो भने त्यसपछि तपाइँले लगअन गर्ने वेबपेजमा सोही विषयका विज्ञापन देखा पर्न थाल्दछन् ।

गुगलले मात्र होइन फेसबुक जस्ता सोसल मिडिया साइटले पनि यस्ता जानकारीहरुलाई विज्ञापनिक लाभका लागि प्रयोग गर्दछन् । कुनै इ कमर्श साइटमा आफुले सर्च गरेको प्रडक्टको बारेमा त्यस लगत्तै आफ्नो फेसबुकको होमपेजमा विज्ञापन आउन थालेको सायद तपाइँले पनि अनुभव गर्नुभएको छ होला । यहाँ पनि तपाइँका जानकारीहरु इन्टरनेटमार्फत अरु कसैले उपयोग गर्दोरहेछ भन्ने प्रमाण हो ।

इन्टरनेटमा आफ्नो व्यक्तिगत जानकारीलाई शतप्रतिशत गोप्य राख्न त सम्भव नै छैन तर पनि केही सरल उपायहरु अपनाउनुभयो भने तपाइँले आफ्ना कतिपय गोप्य जानकारीहरु सुरक्षित राख्न सक्नुहुन्छ ।

गुगलले हरेक प्रयोगकर्ताको रुचि अनुसार उसको फरक फरक पर्सनल प्रोफाइल सिर्जना गर्दछ । यसका लागि तपाइँले आफ्नो गुगल अकाउन्टमा ‘एड पर्सनलाइजेशन’ अप्सन अनचेक्ड गर्नुपर्दछ । आफ्नो व्यक्तिगत जानकारी गुगललाई दिँदा त्यसको दुरुपयोग हुने जोखिम बढ्दछ ।

कतिपय मानिसहरुलाई यो भ्रम हुन्छ की इनकग्निटो मोड/प्राइभेट मोडमा काम गर्दा यस्तो प्रकारको कुनैपनि समस्या हुँदैन । वास्तविकतामा यस्तो हुँदैन । यसबाट पनि पूर्णरुपमा विज्ञापन ब्लक हुँदैन ।

त्यसैले इन्टरनेटमा आफ्नो जासूसीलाई केही कम गर्नको लागि सोसल मिडिया प्रयोग नगरेको बेला लगआउट गर्नुहोस् । साथै ट्रयाकिङ ब्लक गर्ने विशेष सफ्टवेयरको पनि प्रयोग गर्न सक्नुहुन्छ । एजेन्सी