गायिका जलजलाको उपचारका लागि दक्षिण कोरियाबाट सहयोग

गायिका जलजलाको उपचारका लागि दक्षिण कोरियाबाट सहयोग

अर्घाखाँचीको सन्धिखर्क घर भएकी गायिका जलजला परियारलाई उपचारका लागि दक्षिण कोरियामा काम गर्दैआएका अर्घाखाँचीवासीले सहयोग गरेको छ ।

मीठो स्वरकी धनी २१ वर्षीया गायिका परियार दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले शिक्षण अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी छन् । ‘नेपाली तारा सिजन–३’ मा सहभागी भएपछि स्रोता तथा दर्शकमाझ चिनिएकी उनले धेरै गीतमा स्वर भरेकी छन् । उनका ‘केही कदम’ सँगै ‘ढुंगाको मन हुनेलाई’, ‘म त रोएँ रोएँ’ लगायतका गीत चर्चित छन् ।

चलचित्र ‘बाटोमुनिको फूल २’ मा यश कुमारसँग गाएको, ‘केही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ’ भन्ने यो गीतले उनलाई सांगीतिक क्षेत्रमा सबैसामु चिनाएको हो । तर अहिले उनै गायिका अस्पतालको शय्याबाट जीवनको याचना गरिरहेकी छिन् ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारलाई रु एक लाख १३ हजार ३५० सहयोग रकम हस्तान्तरण गरेको छ ।

कोरियामा कार्यरत नेपालीबाट संकलन गरिएको रकमलाई एकमुष्ट गरी हस्तान्तरण गरिएको मञ्चका कोषाध्यक्ष राज खनालले जानकारी दिनुभयो ।गायिका परियारलाई मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभावका कारण समस्या परेको भन्ने खबर पाएपछि नेपालीसँग रकम संकलन गरिएको उहाँले बताउनुभयो । संकलित रकम मञ्चका सल्लाहकार प्रकाश बेलबासेमार्फत हस्तान्तरण गरिएको हो ।