१८ वर्षपछि साउदीको ऊँट गोठबाट उद्धार

 १८ वर्षपछि साउदीको ऊँट गोठबाट उद्धार

साउदी अरबको हाफर अल वातेनको मरुभूमिमा जबर्जस्ती दास बनाएर राखिएका पल्लिकोट–४, ढाप, गुल्मीका टेकबहादुर राकसकोटीको १८ वर्षपछि उद्धार भएको छ । साउदी नागरिक मन्दु नुहाब सम्मेरीले उनलाई २०५८ साउन १६ देखि जबर्जस्ती ऊँट गोठालो बनाएर राखेका थिए ।

इराकसँग सीमा जोडिएको हाफर क्षेत्र साउदीको राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा पर्छ । रियादस्थित नेपाली दूतावासले राकसकोटीको ८ वर्षको बाँकी तलब ७० हजार रियाल (करिब २० लाख रुपैयाँ) दिलाएर मंगलबार नेपाल पठाएको हो । उनी एयर अरेबियाको उडानबाट राति ८ बजे त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । मालिकले दुई महिनाको तलब दिने, चार महिनाको नदिने गर्दै राखेका थिए ।

‘आफ्नो देश फर्किएर परिवारलाई भेट्न पाउँछु भन्ने लागेकै थिएन,’ त्रिभुवन विमानस्थल उत्रिएपछि उनले भने, ‘मसँग मेरो शरीर मात्रै थियो । मन पत्थरजस्तो भइसकेको थियो । अनुहारमा कुनै हाँसो थिएन । मेरा रहर, सपना सबै मरुभूमिमा मरिसकेका थिए ।’ उनले श्रीमती र छोरालाई कतिखेर भेटौंजस्तो भएको सुनाए, ‘२०५८ मा तीन महिनाका छोरो र २१ वर्षकी श्रीमती छाडेर साउदी गएको थिएँ । श्रीमती धनकुमारी छोरा हुर्काएर घरमै बसेकी छन्,’ उनले भने, ‘मेरो मन एकदमै हतारिएको छ ।’ १८ वर्षपछि फर्किएका राकसकोटीलाई लिन विमानस्थलमा उनका भिनाजु शेषबहादुर राना पुगेका थिए ।

काठमाडौंस्थित गोल्डेन इन्टरनेसनल म्यानपावरलाई ६० हजार रुपैयाँ बुझाएर बिल्डिङ कन्स्ट्रक्सनमा लेबरको काम गर्न उनी साउदी पुगेका थिए । तर, साउदी पुगेपछि मालिक सम्मेरीले विमानस्थलबाट सीधै हाफर अल वातेनको मरुभूमिमा भेडाबाख्रा हेर्न लिएर गए । ‘एकैपटक मरुभूमिमा लगेर राखियो । जेलभित्र थुनिएजस्तो भयो । मरुभूमिबाट बाहिर निस्केर भाग्ने सम्भावना थिएन,’ उनले भने, ‘अहिलेजस्तो तुरुन्तै नेपालमा फोन गरेर जानकारी दिने माध्यम थिएन । भेडाबाख्रा हेरेर बस्न बाध्य भएँ ।’ आफूले बेलाबेला चिठी पठाउने गरेको भए पनि परिवारले पाए/नपाएको यकिन नभएको उनले बताए ।

‘मैले त जन्मिनासाथ छोरो देखेको थिएँ, तर उसले अहिलेसम्म आफ्नो बाबुलाई देख्न/चिन्न पाएको छैन,’ उनले भने, ‘त्यो गोठमा जन्मिने प्रत्येक ऊँटको बच्चा मलाई मेरै तीनमहिने छोरोजस्तै लाग्थ्यो । उसलाई छोरोलाई जत्तिकै माया गर्थें । उसलाई केही नहोस् भनेर भगवानसँग प्रार्थना गर्थें । त्यो बढदै गएको ऊँटलाई हेर्दा छोरो पनि हुर्किरहेको होलाजस्तो लाग्थ्यो ।’ आफू फर्किने बेला गोठमा ७७ वटा ऊँट रहेको उनले सुनाए ।

राकसकोटीका अनुसार मालिकले अर्को कामदार ल्याएपछि पठाइदिन्छु भन्दै रोकेर राखेका थिए । गोठमा मालिकले बेलाबेला सुडानी, भारतीय कामदार लिएर आउँथे । उनीहरू दुई/चार महिनाभन्दा बढी टिक्दैनथे । जोखिम मोलेरै भाग्थे । राकसकाटीले पनि स्वदेश फिर्ने प्रयास नगरेका होइनन् तर सफल भएनन् । ‘म चार पटक भागेर प्रहरीको सम्पर्कमा पुगें । तर, जति पटक पुगे पनि प्रहरीले मालिककै जिम्मा लगाइदिन्थ्यो,’ उनले सुनाए, ‘नयाँ मान्छे ल्याउनासाथ पठाइदिन्छु भनेर प्रहरीलाई भन्थ्यो, अनि प्रहरीले उसैसँग पठाइदिन्थे ।’ मालिकले पठाउला नि त भन्ने आसमै १८ वर्ष बितेको उनले बताए । ‘ल्याएका जति सबै भागेपछि झन् यो पनि भाग्यो भने मेरो खत्तम हुन्छ भनेर मालिकले मेरो तलब रोक्न थाले,’ उनले सुनाए । सुरुमा उनको तलब ४ सय रियाल थियो । पाँच वर्षपछि एक सय रियाल बढ्यो । आठ वर्षपछि ८ सय रियाल पुग्यो । १२ वर्षपछि एक हजार रियाल । ‘तलब अलिअलि बढे पनि सबै दिएनन् । मलाई पनि आफ्नो पसिनाको कमाइ यत्तिकै छाडेर आउन मन लागेन,’ उनले भने ।

यसरी भयो उद्धार
परिवारसँग सम्पर्कविहीन भएको केही वर्षपछि राकसकोटीको परिवारले खोजखबरका लागि नेपाली दूतावासलाई अनुरोध गरेको थियो । तर, उनका बारे यथेष्ट सूचना नभएकाले खोजखबर हुन सकेको थिएन । तीन वर्षअघि परिवारले फोन नम्बर उपलब्ध गराएपछि दूतावासले पीडित राकसकोटीसँग सम्पर्क गरेका थिए । ‘साउदीमा नेपालको दूतावास छ भन्ने मलाई थाहा नै थिएन,’ उनले भने, ‘दूतावासबाट फोन आएपछि मात्रै थाहा भयो ।’ उनीसँग सम्पर्क भएदेखि नै दूतावासले उद्धारको पहल सुरु गरेको थियो ।

आजको कान्तिपुरमा खबर छ ।