दाङकी एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट

 दाङकी एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट

दाङको देउखुरीमा एक महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएको छ । राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी ३५ बर्षीया सुशीला कवँरले बोक्सीको आरोपमा आफुमाथि कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

ईलाका प्रहरी कार्यालय गढवामा पिडित कवरले आफुमाथि सातजना स्थानीयले बोक्सीको आरोप लगाउँदै निर्मम रुपमा कुटपिट गरेको भन्दै जाहेरी दिएको प्रमुख प्रमोद क्षत्रीले बताए । पिडितलाई घाउकेस फारमको लागि लमही अस्पतालमा पठाइएको र कुटपिटमा संलग्नहरूको खोजीका लागि प्रहरी पठाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताए ।

धनबहादुर कवरकी बुहारी ईन्द्रा कवर बिरामी भएको र झारफुक गर्दा धामीले बोक्सी लागेको बताएपछि आफूमाथि अनाहकमा कुटपिट भएको अस्पतालमा उपचारार्थ भर्ना भएकी पिडित सुशीला कवरले बताइन ।

‘अनाहकमा म माथि कुटपिट भयो, मलाई लछारपछार पारियो, कपाल समातेर सार्वजनिक रुपमै बदनाम गरियो,’– कवरले रुँदै भनिन् ‘ म एउटी महिलामाथि पर पुरुषले लछार पछार गरे, कुटपिट गरे, मेरो सामाजिक अपमान गरियो र मैले न्याय पाउनुपर्छ ।’ उनले आफ्नो छोरीमाथि समेत हातपात समेत भएको बताइन् ।

सुशीलाले दिएको जाहेरीमा शुक्रवार साँझ राजपुर गाउँपालिका वडा नं. ७ वनकट्टी निवासी पूर्णबहादुर बस्नेत, खोपबहादुर नेपाली, धनबहादुर कवर, लक्ष्मी कवर, हर्कबहादुर कवर, मनोज कवर, ईन्द्रबहादुर भण्डारी लगाएतको समुहले आफुमाथि निर्घात कुटपिट गरेको भन्ने जाहेरी दिएकी छन् ।

ईप्रका गढुवाका मुद्दा शाखाका प्रहरी नायव निरक्षिक मिनबहादुर शाहीले सुशीला कवरले दिएको उजुरीमा आफु सुतिरहेको समयमा घरबाहिर बोलाएर बोक्सी भन्दै निर्घात कुटपिट गरेको भन्ने उल्लेख रहेको बताए ।

‘ शुक्रवार राति आफ्नै घरमा सुतिरहेको समयमा घर बाहिर बोलाएर बोक्सी भन्दै निर्घात कुटपिट गरेको भन्दै पिडितले जाहेरी दिनु भएको छ ।’ प्रहरी नायव निरीक्षक शाहीले सेतोपाटीलाई भने । उनले आरोपितहरु पक्राउ परेपछि सत्य तथ्य पत्ता लाग्ने बताए ।