च्याउखेती गर्न प्राविधिक ज्ञानको कमी

च्याउखेती गर्न प्राविधिक ज्ञानको कमी
च्याउखेती गर्न प्राविधिक ज्ञानको कमी

 

च्याउखेतीबाट मनग्य आम्दानी गर्न सक्ने सम्भावना हुँदाहुँदै ज्ञान र प्रविधिको कमीले किसानले पर्याप्त फाइदा लिन सकेका छैनन्।

किसानसँग पर्याप्त स्रोत नभएको र भएकाले पनि ज्ञानको उपयोग गर्न नसकेको कृषि विभाग अन्तर्गतको किट विकास निर्देशनालयका सूचना अधिकारी जगन्नाथ शर्माले बताए।

च्याउमा सबैभन्दा बढी भुसुनाको समस्या देखिने गरेको छ। पराल पाक्ने गरेर हाल्दा र च्याउको टहरामा जाली राख्दा भुसुनाको समस्या समाधान हुनसक्ने शर्माको भनाइ छ।

उनी भन्छन्, “जाली राख्न महँगो नभए पनि धेरै किसानलाई यसको ज्ञान छैन।”  जाली सबैतिर र सहज रुपमा पाइने भए पनि किसानलाई जालीको प्रयोगबारे थाहा छैन।

काठमाडौंँ उपत्यकामा एकातिर धानखेती कम हुँदै गएको छ भने एर्कातिर च्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दा परालको अभाव भएको छ। किसानले परम्परागत रुपमा फलामको भाँडामा पराल पकाउँदा पर्याप्त उत्पादन लिनसकेका छैनन्। विकसित देशमा फोहोरबाट च्याउको उत्पादन हुने गरेको छ।

शर्मा भन्छन्,– “हामीले पनि फोहोरबाट च्याउ उत्पादन गर्न सके फोहोर व्यवस्थापन र परालको अभाव हुँदैन। यसबाट किसानले मनग्य आम्दानी लिनसक्छन्।”

च्याउको माग बढेसँगै व्यावसायिक रुपमा च्याउखेती गर्ने किसानको संख्या बढिरहेको छ। केही वर्ष पहिलेसम्म गोलभेँडा लगायत तरकारी खेती गरिरहेका किसानसमेत अहिले च्याउखेतीतर्फ आकर्षित भएका छन्।

नेपालमा मुख्य गरेर गोब्रे, कन्ये र सिताके च्याउखेती हुँदैआएको छ। रासस